;
![]() |
सुर्य बस्याल, इजरायल
विदेशमा सुखै सुख र आनन्द ले, को बसेको छ र मित्र ?
कहिले घामले पोलेको छ त कहिले हिउँले पछारेको छ
रुखो र कर्कश आवाजले सधैं गिज्याएको छ यहाँ ,
बाध्यता र विवसताले मात्रै मिहेनती र सहनशील बनाएको छ ।
कल्पना भण्डारीको यो कविताबाटै शुरु गरे आजको लेखन । जब चाडपर्वहरु आउँछन । बिदेशमा बिदेशिएका हामी नेपालीहरुको मन एक्कासि उद्धेलित भएर आउँछ । कामबाट छुट्टी पाएका केही साथीहरु र हितैषिहरु झोला बोकेर देश फर्कनुहुन्छ, स्वदेशमा रहेका परिवार र आफन्तलाई केही उपहार र मायाका कोसेली बोकेर । बिदा नपाउनेहरु फर्किदै गरेको साथीसँग बिदाईका हातहरु हल्लाएर केहीबेर निकै भावुक हुन्छन र कतिपय अवस्थामा आखाँ नै भिज्छन । तर, बिदेशको भूमिमा कहाँ धेरै समय भावुक बनेर बस्न मिल्छ र काम र जिम्मेवारीले फेरि आफ्नो नियमिततामा फर्काइहाल्छ । यसरी नै केही वर्षहरुदेखि हामीले आफूलाई बिदेशी भूमिमा अगाढि बढाइहरेका छौं । कामको सिलसिलामा म केही वर्षयता देशबाट करीब ३ हजार माइल (करीब ४ हजार ८ सय किलोमिटर) पर इजरायलमा छु ।
संसारकै अग्लो भू–भागको म एउटा नेपाली संसराकै होचो भू–भाग भएको इजरायलमा बसेर जीवनको परीक्षा दिइहरेको छु । तर, जब क्यालेण्डरले नेपालमा चाडपर्वहरुको संकेत देखाउँछन, तब मन एकाएक नेपाल पुगिहाल्छ । मेरो जस्तो पीडा अरु साथीहरुलाई पनि उस्तै छ । केही वर्षयता इजरायल, कामका लागि बिदेशिने नेपालीहरुको आकर्षक गन्तब्य बनिरहेको छ । त्यसैले पछिल्लो समयमा इजरायलमा नेपालीहरुको सख्या पनि बढिरहेको छ र आउन चाहनेहरुको संख्या पनि निकै छ । तर, सरकारको कमजोर संयन्त्र र विभिन्न कारणले अवसर हुँदाहुँदै पनि इजरायलमा धेरै कममात्र नेपाली आएका छन । अहिले इजरायलमा हामी करीब ३ देखि ४ हजारजना जति नेपाली काम गरिरहेका छौं । यही केही हजार नेपालीको संख्या मिलेर हामीले हाम्रा चाडपर्व तथा विशेष अवसरलाई मनाइहरेका छौं । यसका लागि इजरायलमा खुलेका नेपालीका विभिन्न संस्था तथा संगठनले नेत्तृत्व लिएर नेपालीलाई विशेष अवसरमा मनोरञ्जन गराउँदै आइहरेका छन् । तीजको समयमा तीज विशेष कार्यक्रमहरु भएका छन्, दशैंको अवसरमा दशैं विशेष कार्यक्रम हुँदैछन र अन्य महत्वपूर्ण अवसरमा पनि देशलाई सम्झने र महसुस गर्ने अवसर बिदेशी भूमिमै भएपनि भइरहेका छन् । जे सुकै भएपनि यस्ता कार्यक्रमबाट हामीले देशप्रतिको छुट्टै श्रद्धा झल्काउने अवसर पाइरहेका छौं । यस्तो सकारात्मक यथार्थकाबीच केही समययता इजरायलमा रहेका हामी केही हजार नेपालीबीच एउटा अचम्मको खालीपन पनि बढ्दै गएको छ । विभिन्न कारणले हामी नेपाली–नेपालीबीच एक किसिमको चिसोपन बढ्दै गएको छ ।
जोसुकै भेट्दा पनि मुसुक्क हाँसेर सन्चो बिसन्चो सोध्ने हाम्रो संस्कार हामी नेपाली– नेपालीबीच नै बिग्रदैं गइरहेको छ । जसको परिणाम इजरायलमा हामी नेपालीका बारेमा केही नकारात्मक हल्लाहरु बढिरहेका छन् । यसले अन्ततः हामी नेपालीलाई निकै समस्यामा पार्ने देखिन्छ । त्यसैले पनि नेपालीको सबैभन्दा ठूलो पर्वको रुपमा आएको दशैंको यो मौकामा हामी इजरायलमा रहेका नेपालीले सबै नेपाली एक छौं भन्ने सन्देस दिनुपर्छ भन्ने आशय यो लेखको हो । यो लेखको आशय कसैलाई आरोप, आक्षेप लगाउने वा उपदेश दिने होइन । त्यसैले यसलाई त्यसरी पनि नबुझ्नु होला । यहाँ मैले पछिल्लो समयमा इजरायलमा बढ्दैं गएका समस्याबारे उल्लेख गर्ने प्रयास गरेको छु ।
१) राजनीति : धेरैजसो बिदेशमा बस्ने हामी नेपालीको गुनासो छ कि नेपालको राजनीति खत्तम छ, नेपाल राजनीतिले खत्तम भयो । सामाजिक सञ्जालमा कडा स्ट्याटस लेखेर नेपाली नेताहरुलाई फोहोरी राजनीति गरेको आरोप लगाउँदै दुईचार थान डाइलग पनि हानिहाल्छौं । तर, बिडम्बना नै भन्नुपर्छ । पछिल्लो समय इजरायलमा रहेका हामी केही हजार नेपालीहरु पनि राजनीतिको फन्दामा पर्दै गइरहेका छौं ।
जाबो ३–४ हजार नेपाली भएको ठाउँमा पनि विभिन्न पार्टीका नाममा संगठन खुल्न थालेका छन् । फलानो काँग्रेस, फलानो एमाले, फलानो माओबादी भन्ने स्थिती आएको छ । हिजोआज धेरै मान्छेको मूल्यांकन यहाँ पनि राजनीतिक चश्मा लगाएर हुन थालेको छ । देशको राजनीतिले वाक्क भएर बिदेशमा आन्नदले काम गरौला भनेर आएका कतिपय साथीभाईलाई जर्बजस्ती राजनीतिक संगठनको सदस्यता भिराइएको छ र नेपालीहरुबीच इजरायलमा रहेको एकतालाई राजनीतिले बिभाजन गर्दैछ । राजनीतिक चेतना र आस्था जहाँ रहेपनि आफ्नो अधिकार भएपनि जहाँ गएपनि राजनीति नै गर्नुपर्छ भन्ने यो हाम्रो कस्तो संस्कार हो ? यहाँ हामी काम गर्न पो आएको हो, होइन र ?
२) संघसंस्था : जहाँ गएपनि हामी नेपालीको अर्को समस्या भनेको संघसंस्था खोलिहाल्ने पनि हो । इजरायलपनि त्यसबाट अछुतो हुने कुरै भएन । अहिले इजरायलमा ३०–४० वटा विभिन्न नामका संस्था नै खुलिसकेका छन् । संघसंस्था खोल्नु नरामो काम त पक्कै होइन । तर, यति थोरै नेपाली भएका ठाउँमा यत्रा संस्था किन चाहियो भन्ने धेरैको प्रश्न छ । कतिपय संघसंस्थाले नेपालमा परेको विपतमा एदमै प्रसंसनीय काम पनि गरेका छन्, सहयोग पनि गरेका छन् । त्यसलाई सकारात्मक रुपमै लिउँ ।
तर, इजरायलमा खुलेका धेरै संस्थाले धेरै नेपालीलाई समस्यामा पनि पारेका छन् । चाडपर्व तथा विशेष अवसरमा त्यस्ता संस्थाहरुले आ–आफ्ना कार्यक्रम राख्ने गर्छन । धेरै नेपालीलाई कस्को कार्यक्रममा जाने भन्ने समस्या पर्छ । उसकोमा गयो उ रिसाउने उसकोमा गए उ । धेरै नेपालीले यस्तो समस्या भोगेका छन् भने विभिन्न कार्यक्रम र सहयोगका नाममा मेहनत गरेर कमाएको रकम मँहगो टिकट र सहयोग रसिदमा खर्च गर्नुपर्ने बाध्यता समेत छ । जाबो ३–४ हजार नेपाली एउटै संस्थामा गोलबद्ध भएर एक भएर जस्तासुकै काम गर्दा हुँदैन र ? यसो हुन सके पो नेपालीहरुको एउटा बलियो संस्था हुन्छ र नेपालीलाई समस्यामा पनि सहयोग गर्न सकिन्छ ।
३) खुट्टा तान्ने प्रवृत्ति : नेपालीहरुमा यो प्रवृत्ति अहिले निकै बढिरहेको छ । कसैले राम्रो काम गरे त्यसलाई कसरी हुन्छ सफल हुन नदिने धयेयले केही नेपालीले विभिन्न अर्को नेपालीलाई तल पार्न कस्सिएर लागेको देखिएको छ । धेरैजसोको काम घरमै रहने र इन्टरनेट सुविधा सधैं उपलब्ध हुने हुँदा दिनभर फाल्तु गफ गर्ने, एकले अर्कोको कुरा काट्ने र राम्रो काम गर्नेलाई विगार्ने प्रवृत्ति बढिरहेको छ । यसले कति नेपालीहरु नेपालीबाटै पीडित बनेका छन् । बिदेशमा बसेर आफ्नो काम गर्ने र अर्को नेपाली समस्यामा परे सहयोग गर्नुपर्ने अवस्थामा कतिपय नेपालीले नै अर्कोलाई खुच्चिङ भन्दै हिंडेको देखिन्छ । यसले हाम्रो इज्जत कहाँ पुग्छ । सोचेको छ कसैले ।
४) अपराध : पछिल्लो समयमा केही नेपालीहरु अपराधिक कार्यका समेत संलग्न हुन थालेका छन् । जसले सबै नेपालीलाई इजरायलमा शंकाको दृष्टिले हेर्ने क्रम पनि बढ्दो छ । आफैले सेवा गर्ने जिम्मा लिएका कतिपय नेपाली कामदारले हेरचाह गर्नुपर्ने वृद्धवृद्धालाई कुटपिट गरेर अदालत र जेलसमेत पुगेका घटनाहरु पनि छन् । त्यस्तै नेपाली–नेपालीबीच झगडा गर्ने कुटपिट गर्ने र जेल पुगेका घटनाहरु बढिरहेका छन् । त्यसमाथि सोझासाझा नेपालीलाई केहीले आफ्नो बनाएर लुटने काम पनि बढेको छ । नेपालीहरु नेपालीबाट नै बढीजसो समयमा ठगिने, लुटिने क्रम पनि बढेको छ । यसले गर्दा हाम्रो इज्जतमा नै आँच आएको छ । यसले नेपालीको इजरायलमा कस्तो सन्देस जान्छ, सबैले सोच्नुपर्दैन ? यी बाहेक पनि अहिले इजरायलमा विभिन्न समस्या छन् । ती समसयालाई हटाएर इजरायलमा नेपालीको इज्जत र मानलाई कायम राख्ने जिम्मेवारी पनि हाम्रै हो । कामत हामीले विश्वको जुनसुकै कुनामा गए पनि गनैपर्छ । तर, आफ्नो इज्जत राखेर काम गर्नु सबैभन्दा चुनौतीको विषय हो । सबै हिसाबले नेपालीका लागि राम्रो मानिएको इजरायलमा हामीले यही दशैंबाट एकताको सन्देस दिदैं दशैं मनाउन सक्यौ भने त्यसले भविष्यसम्म सकारात्मक सन्देस दिनेछ । इजरायलमा रहेका हामी नेपालीहरुको ९० प्रतिशत हाम्रै दिदिबहिनीहरु छन् भने हामी जम्मा १० प्रतिशत पुरुषहरु छौं । यो संयोजनामा हामीले इजरायललाई नेपालीहरुबीच राजनीति गर्ने र प्रतिस्पर्धा गर्नेभन्दा पनि सबै एक भई मिलेर अघि बढौं । यसले हाम्रो वास्तविक शक्ति पनि स्थापित हुनेछ । बिजया दशमी २०७३ को सबैमा शुभकामना ।
सुर्य बस्याल
कोहलपुर बाँके
हाल इजरायल बाट
![]() |

0 comments:
Post a Comment