;
![]() |
मिडिया एनपी, काठमाडौं, २३ असोज । आइतबार (आज) आश्विन शुक्ल अष्टमी अर्थात बडादशैंको नवरात्र अन्तर्गतको महाअष्टमी मुलुकभर शक्तिपीठहरुमा बली दिएर मनाइँदैछ ।
महाअष्टमीका दिन दशैं घर तथा जमराकोठामा दुर्गाभवानी, महाकाली, महा–सरस्वती र महालक्ष्मीको प्रतीकका रूपमा चामल, द्रव्य, जनै, सुपारी, फलफूल र नैवेद्यसहित नौ थुप्रा राखी दुर्गापूजा गर्नाका साथै कलपूर्जा, हातहतियार र सवारी साधनलाई सफासुग्घर गरी बलिसहित पूजा गरिन्छ । पशुबलि नचढाउनेहरू पनि जमराकोठामा घिरौंला, कुभिन्डो, मूला आदि बलि दिई दुर्गाभवानीलाई खीर तथा नरिवल चढाउने गर्दछन् ।
महाअष्टमीका दिन देशभरका विभिन्न शक्तिपीठहरुमा बली चढाउने र पूजाअराधना गर्नेहरुको घुइँचो लागेको छ । हनुमानढोकाको दसैँघरमा महाअष्टमीको मध्यरातमा शक्तिरूपिणी दुर्गाभवानीको पूजाअर्चना र हर्षबढाईंका साथै ५४ राँगा र ५४ बोकाको बलि दिई कालरात्री मनाउने चलन छ ।
यस पर्वमा आश्विन शुक्ल पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यि नौवटा दुर्गाका रुपलाई नै नवदुर्गा पनि भन्ने गरिन्छ ।
बडादसैंको सातौं दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ भने महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरुले दसैं घर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्ने गरिन्छ । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवं स्तुतिहरुको पाठ पारायण पनि गर्ने गरिन्छ ।
यस अवधिभर मुलुकभर रहेका शक्तिपीठहरुमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड समेत लाग्ने गर्दछ । नवरात्रको अन्य दिनझैं आइतबार पनि राजधानीका गुह्येश्वरी, शोभाभगवती, नक्सालभगवती, भद्रकाली, संकटा, मैतीदेवी, दक्षिणकाली, बज्रबाराही, जयबागेश्वरी तथा पलाञ्चोक भगवती, मनकामना, चुरेमाई लगायत देशभरिका शक्तिपीठहरूमा भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ ।
यसवर्षको दशैंको टीकाको शुभ साइत असोज २५ गते विहान ८ः४५ बजेर रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ
![]() |

0 comments:
Post a Comment