सिंहदरबारका कारण अल्पायुमै ज्यान गुमाउन बाध्य छन् कर्णालीका चेलीहरु

;
दिपेन्द्र रावल
२१ असाेज

काठमाडाैँ ।

पहुँच र पैसा हुनलेहरुकाे मात्र उपचारको जिम्मा सरकारले लिने सम्भवतः नेपाल विश्वमा एक मात्र देश हाे । यहाँ सर्वसाधारणको कुनै गणना छैन । उपचार र खान नपाएर मर्नुपर्ने बाध्यतालाई भाग्यको खेल हो भन्ने कुरा राज्य पढइरहेकाे छ ।

राज्य हुने खानेहरुप्रति मात्र जिम्मेवार छ । उनीहरु सामान्य विरामी हुँदा पनि करोडौं खर्च गरेर विदेशमा उपचार गर्न पठाईन्छ तर बचाउँबचाउँ भन्दै छटपटरहेका नागरिकले राज्यबाट केवल दयाका शब्दमात्र पाउँदै अाएका छन् । यस्ता घटना दिनदिनै भइरहेका हुन्छन् ।

पछिल्लो पटक कर्णालीकी दुई चेलीले पनि त्यही नियती भोग्दै कलिलो देशकाे लागि केही गर्ने सपना पूरा नहुँदै संसार छाड्नु पर्यो । उच्च शिक्षा हासिल गरिरहेकी जुम्लाको चन्दननाथ नगरपालिका–६ की अनु र सन्ध्याले उपचारको अभावमा ज्यान गुमाउनु परेको छ । कर्णालीको मुहार फर्ने सपना बोकेकी दुई चेली १३ दिनको अन्तरमा संसारबाट बिदा भइन् । यो घटनाले कर्णालीलाई मात्र होइन सिंगो युवा पुस्तालाई पोलिरहेको छ । बाच्न पाउने अधिकारको खोजि गर्नुपर्ने बेला आएको छ ।

सामाजिक संजालमा एउटै टोलकी दुई चेलीले उपचार नपाएर कलिलो उमेरमा ज्यान गुमाउनु परेको घटनाले मलाइँ असाध्यै पोल्यो । मैले सामाजिक सञ्जाले जुराइदिएको साथी मनोज बुढाथोकी मगरसँग कुरा गरे । उनले अनु र सन्ध्याको बारेमा थारै भएपनि जानकारी गराए । छिमेकी मगर पनि पीडित हुन् ।

दुई ओटै मृगौला खराबीबाट अनु कार्कीले ज्यान गुमाएको ठिक १३ दिनपछि सन्ध्या शाहीले पनि संसारबाट विदा भइन् । आमा रुपा र बुबा हेमबहादुर कार्कीकी छोरी अनुको २० वर्षको उमेरमा यही असोज ६ गते निधन भएको थियो ।


सुटेट-बुटेटहरुको सेवा गर्न स्वास्थ्य मन्त्री भएका थापाले कर्णालीकी चेलीलाई के नै गर्न सक्थे र ? यदि सन्ध्याको ठाउँमा मन्त्री थापाकी छोरी भएको के गर्थे होला ? याे प्रश्न कर्णालीकाे हृदयमा खडा भएकाे छ ।

रोगबारे समयमै जानकारीको अभाव र उपचारमा पहुँच नभएकै कारणले उनले ज्यान गुमाएकी हुन् । विरामले जितिसकेपछि अनुलाई उपचारको लागि सुर्खेत हुँदै नेपालगंजसम्म पुर्याइयो । अनुलाई बचाउन आशामा आफन्तले सकेसम्मको प्रयास गरे तरपनि सफल भएनन् । अनुलाई आवश्यक परेको उपचार आर्थिक र सुविधाका हिसाबले सम्भव भएन ।



नेपालगंज नर्सिङ्ग होमले आफूले उपचार गर्न नसक्ने भन्दै बाहिर रिफर गर्याे । अाफ्नाे हैसियत र पहुँच पुग्ने भारतको लखनउ लैजादै गर्दा बइराइच नपुग्दै अनुकाे निधन भयाे ।

छिमेकी मनोजका अनुसार वि.सं. २०५३ पुस २५ गते जन्मेकी अनुले चन्दननाथ उच्च माविबाट एसएलसी पास गरेकी थिइन भने प्रबिणतापत्र तह रत्न चुडेश्वर उच्च माविबाट । उनको घरमा आमा बुबासँगै दिदि भगवती, भाईहरु दिपेश, देबेन्द्र कार्की छन् ।

मिलनसार र व्यवहारिक अनुलाई सम्झेर चन्दननाथ रोइरहेको बेला अर्की चेलीको पनि संसार छाडेकी छन् ।

अनुको निधन भएको ठिक १३ दिनमा एउटै टोलकी सन्ध्या शाहीले पनि संसारबाट बिदा लिइन् । आमा रिता र बुबा नवराज शाहीकी छोरी सन्ध्या क्यान्सरबाट पीडित थिइन् । वि.सं. २०५४ सालमा जन्मेकी सन्ध्या काठमाडौँमा नर्सिङ शिक्षा अार्जन गर्दै थिइन् । नर्स बनेर विरामीको सेवा गर्ने सन्ध्याको धोको पूरा भएन । १९ वर्षको कलिलो उमेरमा यही असोज १९ गते उपचारको क्रममा निधन भयो । रोगको प्रभावलाई आवश्यक पर्ने उपचार नपाएर नै सन्ध्याले पनि ज्यान गुमाएकी हुन् ।

कनिका उच्च मावि,जुम्लाबाट एसएलसी पास गरेकी सन्ध्याका आमाबुबा, दिदि शोभा र सौरभ शाही छन् ।

मृत्यु नजिकै आइरहेको बेला सन्ध्याले स्वास्थ्यमन्त्री गगनकुमार थापालाई पत्र लेखेर नेपालको स्वास्थ्य क्षेत्रमा भएका बिकृती र विसंगतीका कुरासँगै केही प्रश्नकाे जवाफ चाहेकी थिइन । मन्त्री थापाले सन्ध्याको बारेमा केही गर्न सक्छन् भन्ने आम आशा पनि निरासमा बदलियो । मन्त्री थापाले सन्ध्याले साेधेका प्रश्नकाे जवाफ नदिए केवल दयाका दुई शब्द मात्र दिएर उम्किए । हुन त सुटेट-बुटेटहरुको सेवा गर्न स्वास्थ्य मन्त्री भएका थापाले कर्णालीकी चेलीलाई के नै गर्न सक्थे र ? यदि सन्ध्याको ठाउँमा मन्त्री थापाकी छोरी भएको के गर्थे होला ? याे प्रश्न कर्णालीकाे हृदयमा खडा भएकाे छ ।

आशा गरेकी अनु र सन्ध्यालाई गुमाउनु परेकोमा कर्णाली रोइरहेको छ तर सौतेनी आमा सिंहदरबारलाई पीडा हुने छैन । कर्णाली र उत्पीडित क्षेत्रका नागरिकलाई दोस्रो दिने सिंहदरवारलाई यस्ता धेरै घटनाले पटक्कै दुखेन र दुख्ने छैन ।

मृगौला र क्यान्सर भएका धेरै नेताहरु लिगलिगे दौडमा सहभागी छन् । उनीहरुले पाइरहेको उपचार पाएको भए सन्ध्याले पाएको भए कलिलो उमेरमा ज्यान गुमाउनु पर्ने थिएन । नर्स बनेर कर्णालीबासीको सेवा गर्नेछिन । कर्णालीमा न उपचार पहुँच र विदेशका सुविधा सम्पन्न अस्पतालमा जान सक्ने अवस्था ।



अनु र सन्ध्या मिल्ने साथी पनि हुन् । अनु उमेरमा एक वर्षले मात्र जेठी । धेरै पढेर कर्णालीको लागि केही गर्ने योजना उनहरुको थियो । तर, पूरा हुन सकेन । अनु र सन्ध्या प्रतिनिधि मात्र हुन् । सिंहदरवार कर्णालीप्रति गैरजिम्मेवार भएकै कारण धेरै अनु र सन्ध्याहरुले अकालमै ज्यान गुमाउनु परिरहेको छ ।

अनु र सन्ध्याको जानकारी दिँदै मनोज बुढाथोकी मगरले एक वर्ष पहिले ४९ वर्षको उमेरमा आफ्नी आमाले ज्यान गुमाउनु परेको घटनालाई पनि सम्झे । उनकी आमा गंगा बुढाथोकी मगरको ब्रेन यानुरिजमकाे उपचार नपाएर निधन भएको थियो ।

उनले आफ्नी आमा काठमाडौँमा जन्मेको भए ८२ भन्दा बढी वर्ष बच्ने बताउँदै राज्यले कर्णालीलाई ४६ वर्षको औषत आयु वरदान दिएको तर अनु र सन्ध्याले आफ्नो बाँकी उमेर सिंहदरवारलाई फिर्ता गरेको बताए । मनाेजले कर्णालीको ३६ बर्ष आयु खै ? भन्दै सिंहदरबारसँग जवाफ मागेका छन् ।

सन्ध्याले अाफ्नाे मनमा खडा भएका केही प्रश्नकाे उत्तर मर्नुभन्द पहिले जान्न चाहेकी थिइन । त्यसैले स्वास्थ्यमन्त्रीलाई पत्र लेखिन । मानिसको जीवनमाथि राज्यले किन खेलवाड गर्छ ? कर्णालीबासी अस्पताल पुग्दा किन साैतनी व्यवहार हुन्छ ? के कर्णालीमा जन्मेकै कारण मृत्युलाई स्वीकार गर्नु पर्ने हाे ? हामी यो देशका नागरिक भएकोमा गर्भ कसरी गर्ने ? यी र यस्तै प्रश्नको उत्तर पाएर मर्ने धाेकाे सन्ध्याकाे पूरा भएन ।

अब यी प्रश्नको उत्तर कर्णालीको युवा पुस्ताले सिंहदरवारसँग माग्नु पर्छ । गैरजिम्मेवार सिंहदरबार जिम्मेवार नभएसम्म धेरै चेलीले अनु र सन्ध्या बन्न बाध्य हुनुपर्नेछ ।
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment